स्वर्गिय निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीको आँखाबाट आँशु झरेपछि उपस्थित पत्रकार तथा चलचित्रकर्मी पनि निक्कै भावूक बने । रेग्मीले निर्देशन गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्माण यूनिटले आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञानु निक्कै भावूक बनिन् ।
उनले आफूलाई माया गर्ने मान्छेले छोडेर गएपनि अरुले संझिरहेकोमा खुशी लागेको बताइन् । उनले आफ्ना पतिको अन्तिम सिनेमासँग अन्य सिनेमा नजुधाउँन सम्बन्धित सिनेकर्मीहरुलाई हार्दिक आग्रह पनि गरिन् ।
उनले बिरामी अवस्थामा रेग्मीले आफू इन्द्रलोक पुगेर आएको भन्दै अब एउटा राम्रो सिनेमा बनाउने बताएको स्मरण पनि गरिन् । यसो भनिरहदा ज्ञानुका आँखा भरिएका थिए । तर रेग्मीको एउटा राम्रो सिनेमा बनाउने सपना पूरा नभएको भन्दै ज्ञानुले छोरालाई बाबुको अधुरो काम पूरा गर्न भनेको बताइन् ।
‘मनले मनलाई छुन्छ’सँग अन्य २ सिनेमा पनि भिड्दै छन् । यो सिनेमा स्वर्गिय निर्देशक शिव रेग्मीले निर्देशन गरेको अन्तिम सिनेमा हो । यसैले पनि यो सिनेमा सबैलाई हेरिदिन रेग्मी पत्नी ज्ञानुले सबै दर्शकलाई हातै जोडेर आग्रह गरेकी छिन् ।
No comments