काठमाडौ, २८ माघ/ ताइपेईमा हुने डब्लूटीएफ तेक्वान्दो छनोटमा सहभागिता जनाउने चार खेलाडी सोमबार छानिएका छन् । नेपाल तेक्वान्दो संघले दुई पुरुष र दुई महिला खेलाडी छनोट गरेको हो ।
ताइपेईमा मार्च २० देखि २१ तारिखसम्म हुने छनोटमा पुरुषमा अमित शाही र विकास राई तथा महिलामा रेश्मा थापा र काजोल श्रेष्ठलेे सहभागिता जनाउनेछन् । ताइपेईकै प्रतियोगिताबाट चीनको नानजिङमा अगस्ट १६ देखि २८ तारिखसम्म हुने युथ ओलम्पिकका लागि खेलाडी छनोट गरिनेछ ।
त्रिपुरेश्वरमा भएको छनोटमा पुरुषको ५५ केजीमुनि स्युचाटार तेक्वान्दो डोजाङका अमितले पहिलो खेलमा सञ्जय सुब्बालाई २२-० ले पराजित गरे । उनले अर्को खेलमा डेकर राईलाई १५-१३ ले हराए । एक मात्र प्रतिद्वन्द्वी पाएका पर्साका विकास राईले रामवरण यादवको चुनौती २१-१० ले समाप्त पारे ।
महिलाको ४९ केजीमुनि छ्यासीकोट तेक्वान्दो डोजाङकी रेश्माले पहिलो खेलमा अस्मिता खड्कालाई ३१-१५ ले निराश पारिन् । त्यसपछि रेश्मा विनीता श्रेष्ठसँग भिडेकी थिइन् । विनीताले घाइते भएपछि खेल त्यागिन् । खेल त्याग्दा रेश्मा र विनीता २८-२८ को बराबरी स्थितिमा थिए । रेश्मासँग खेल्नुअघि विनीताले पि्रयंका कमतडलाई ३१-१८ ले हराएकी थिइन् ।
कोटेश्वर तेक्वान्दो डोजाङकी काजोलले ४४ केजीमुनिको पहिलो खेलमा कञ्चन थापालाई ३४-८ ले हराइन् भने अर्कोमा सविना पुडासैनीलाई ३६-२० ले पाखा लगाइन् ।
छैटौं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दोमा पहिलोदेखि तेस्रो हुने खेलाडीलाई छनोट प्रतियोगितामा समावेश गराइएको तेक्वान्दो संघले जनाएको छ । छनोटमा ५ पुरुष र ७ महिला गरी १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
Source: http://ekantipur.com/np/2070/10/28/full-story/383980.html#sthash.4doJRPGn.dpuf
No comments